काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय लिलबहादुर राई र काठमाडौं महानगरपलिका–२३ बसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये लिलबहादुरले मलेसिया पठाइदिछु भन्दै दुई जना पीडितहरूबाट दुई लाख रूपैयाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिलबहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।