काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्नका लागि थप गृहकार्य भइरहेको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १७ औँ वार्षिकोत्सवमा मन्त्री यादवले आगामी वर्षदेखि वर्षात्को समयमा पनि मेलम्चीको पनि काठमाडौंमा ल्याउने तयारी गरिरहेको बताए । प्रत्येक वर्ष वर्षात्को समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको छ । ‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षात्को समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन’, उनले भने । यसैगरी मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बाग्मती नदीबाट वर्षात्को पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याई आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको जानकारी दिए ।
मन्त्री यादवले याङ्ग्री र लार्केको पानी पथान्तरण हुनु अगावै पूर्वाधार तयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलव पाँच करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताए । उनका अनुसार हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलव पाँच करोड लिटर पुर्याइने लक्ष्य रहेको छ । यसका लागि एसियाली विकास बैँकसँग ऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको उनले बताए । कार्यक्रममा उनले भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।
यस्तै, कार्यक्रममा उनले केयुकेएललाई जनताको सेवामा पूर्णरूपले समर्पित गर्न सुझाव दिए । पानीको गैरराजस्व घटाउँदै लगेर आफ्नो आम्दानीमा उल्लेख्य बढोत्तरी गर्न सक्ने सम्भावनालाई पूर्णरूपमा उपयोग गर्न पनि उनले आग्रह गरे । खानेपानीका स्मार्ट मिटर जडान कार्यलाई प्राथमिकता दिनसके कर्मचारी खर्च घटाउन मद्दत पुग्ने उनको भनाइ थियो । यस्तै, समयानुकूल महसुल पुनरावलोकन गरी वित्तीयरूपमा सक्षम संस्थाको रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । खानेपानी चुहावट नियन्त्रण कार्य र खानेपानीको न्यायोचित वितरण प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेल, मेलम्ची खानेपानी विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टीकाबहादुर चौधरी, भ्याली बोर्डका प्रमुख सञ्जीवविक्रम राणालगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।