काठमाडौं । वैदेशिक लगानीको लागि उपयुक्त वातावरण बन्न नसकिरहेको अवस्थामा पनि विदेशी लगानीकर्ताले लैजाने लाभांश वितरण भने बढेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो सात महिनामा लाभांश वितरण सात गुणाले बढेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म आठ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको सात अर्ब १२ करोड ६४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्ष माघसम्म एक अर्ब ४१ करोड छ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका थिए ।
विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन् । लगानी प्रतिफलस्वरूप मासिक रुपमा करोडौँ लाभांश विदेशी लगानीकर्ताले लैजाने गरेको उनले जानकारी दिए । विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन् । लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्यान्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक रहेका छन् ।
विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा बढी माघमा र सबैभन्दा कम कात्तिकमा लाभांश वितरण गरिएको छ । माघमा छ अर्ब ९२ करोड नौ लाख रुपैयाँ लाभांश वितरण गर्दा कात्तिकमा ३० लाख रुपैयाँ लाभांश वितरण गरिएको हो । साथै साउनमा छ करोड ४० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा तीन करोड सात लाख रुपैयाँ, मंसिरमा सात करोड ८७ लाख रुपैयाँ र पुसमा एक अर्ब ५५ करोड २० लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले असोजमा ३० लाख ४० हजार लाभांश वितरण गर्दा साउनदेखि असोजसम्म भने छ करोड ७० लाख, साउनदेखि कात्तिकसम्म छ करोड ४० लाख, साउनदेखि मंसिरसम्म ८५ करोड १७ लाख र साउनदेखि पुससम्म एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरेको छ । त्यस्तै विभागले आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख र गत आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड ४५ लाख लाभांश वितरण गरेको थियो ।
त्यस्तै सरकारले विदेशी लगानी आएपश्चात् रोयल्टी समेत प्राप्त गर्नेगरेको पाइन्छ । विभागलाई चालू आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ७१ करोड ९२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ३८ करोड ७० लाख रुपैयाँ कम रोयल्टी हो । गत आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ३३ करोड २२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको थियो । चालू आर्थिक वर्षको पुसमा मात्र २२ करोड ६१ लाख रोयल्टी प्राप्त हुँदा माघमा भने ११ करोड आठ लाख रुपैयाँ प्राप्त भएको छ । यसैबीच नेपालमा लगानी गरिसकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ ।
विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।
‘औद्योगिक व्यवसाय ऐन–२०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।