काठमाडौं, साउन ८
नेपालम पहिलोपटक एक विदेशी नागरिकको कोरोनाको कारण निधन भएको छ । पोखरामा एक वर्ष अगाडिदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाको कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अर्का एक भने धनुषाका ६० वर्षीय पुरुष छन् । उनको धरानस्थित बीपी कोइराला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पोखरामा ती चिनियाँ महिलालाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो । त्यसपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएकोमा उनको बुधबार निधन भएको हो ।
धनुषाका एक र एक चिनियाँ नागरिकसहित नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ । बुधबार नै नेपालमा थप एक सय जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ । १२ हजार छ सय ८४ जना निको भएर घर फर्किएका छन् । अब नेपालका विभिन्न अस्पतालमा पाँच हजार चार सय १० जनाको मात्र उपचार भइरहेको छ ।