काठमाडौं । पर्यटकहरूका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै, फेब्रुअरीभर एड्भेन्चरतर्फ ट्यान्डम स्विङ, स्काई साइकल, स्काई क्याफे र रिसोर्टतर्फ कटेजरूममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ ।
स्विङ गर्दा जोडीले सँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ‘अब पर्यटकहरूले आफूले चाहेको व्यक्तिसँग अँगालो मारेर बन्जी गर्न सक्नुहुन्छ’, कार्कीले भने, ‘यसले डर कम गराई आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ ।’ ट्यान्डम बन्जी खेल्न १३ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
फोटो भिडियो र दुई वटा बन्जी टिसर्टको थप दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा एक सय ४० किलोमिटरको हुनेछ ।
मेगाट्रोल खेल्न प्रतिव्यक्ति चार हजार रुपैयाँ लाग्नेछ । ट्यान्डम (जोडी) खेल्दा सात हजार रुपैयाँ र तीन जना खेल्दा नौ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्नेछ । ‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ’, कार्कीले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौँ ।’ पोखरास्थित ’द क्लिफ’को काउन्टरबाट बुकिङ गर्नेले हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधा समेत पाउने जनाइएको छ ।