वासिङ्टन । अमेरिकाका १४ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका घनिष्ठ साथी एलोन मस्कविरुद्ध मुद्दा दायर गरेका छन् । यी राज्यहरू सरकारी दक्षता विभागको प्रमुखको रूपमा एलोन मस्कको नियुक्तिबाट असन्तुष्ट छन् ।
ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग प्रमुखको रूपमा विशाल शक्ति दिएका छन्, जुन अमेरिकी संविधानको उल्लङ्घन भएकोे उनीहरुको आरोप छ ।
बिहीबार वाशिंगटन डीसीको संघीय अदालतमा दायर गरिएको मुद्दामा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले मस्कलाई सरकारी कार्यबल हटाउन र सम्पूर्ण विभागहरूलाई एकै पटकमा खारेज गर्न दिएको असीमित शक्ति यो देशलाई स्वतन्त्रता दिने मानिसहरूका लागि अत्यन्तै स्तब्ध पार्ने छ ।’ दायर निवेदनमा भनिएको छ, ‘देशको सम्पूर्ण शक्ति निर्वाचित नभएको व्यक्तिको हातमा आउनुभन्दा लोकतन्त्रको लागि ठूलोे खतरा अरु के हुन सक्छ र ?’
मस्कजस्तो अधिकार भएको व्यक्तिलाई संविधानले औपचारिकरुपमा राष्ट्रपतिद्वारा मनोनीत हुनुपर्ने र सिनेटद्वारा अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ । संविधानले अमेरिकी राष्ट्रपतिलाई कार्यकारी शाखाको संरसचना र सरकारी खर्चलाई नियन्त्रण गर्ने विद्यमान कानुनहरु परिवर्तन गर्ने अधिकार दिँदैन । त्यस कारण, राष्ट्रपतिलाई नयाँ संघीय एजेन्सीहरु सिर्जना गर्ने वा कुनै पनि एजेन्सी खारेज गर्ने अधिकार छैन ।
मुद्दा दायर गर्ने राज्यहरुले मस्कको कार्यलाई खारेज गर्न माग गरेका छन् । उनीहरुले मस्कले कम्तीमा पनि १७ वटा संघीय एजेन्सीहरुमा हस्तक्षेप गरेको उल्लेख गरेका छन् । उनीहरुले सरकारको आधिकारिक स्तरमा मस्ककले अहिलेसम्म गरेका सबै कार्यहरुलाई गैरकानुनी गर्न माग गरेका छन् ।