काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्याङ्कले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।”
राससका अनुसार खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे ।
सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरुको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन । उनले भनिन, “गत पुस १ गतेदेखि ३७ जना मजदुरहरु आन्दोलित छन्, ती मजदुरका बारेमा के भइररहेको छ, त्यसको सम्बन्धित निकायले जानकारी दिनुपर्छ ।” उनले हेटौँडाको औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा एकजना मजदुर विद्युत्का कारण घाइते भएको उल्लेख गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन ।