काठमाडौं । बितेको वर्ष नेपालमा भ्रष्टाचार झन् बढेको भन्ने भ्रष्टाचारसम्बन्धी संसारले मान्यता दिएको र विश्व बैंकजस्ता ख्यातिप्राप्त संस्थाहरूले गरेको अध्ययनमा यस्तो चित्र प्रकट भएको हो । अन्तर्राष्ट्रिय संस्थाहरूको अध्ययन प्रतिवेदनले भनेको वा देखाएको कुरा संसारभर नै पुग्छ । उल्लेखित अवस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले देखाएको हो । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) प्रतिवेदनले भनेको छ– मूलतः निर्यात, सेवा, कर, ठेक्का व्यवसाय, आयातजस्ता सरकार र व्यावसायिक क्षेत्रसम्बन्धी कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखिन्छ । यस्तो अध्ययन नेपालको मात्र भएको होइन । विश्वव्यापीरूपमा भ्रष्टाचारको अवस्था मूल्याङ्कन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले एक सय ८० वटा देशको एकै प्रकारले गरेको अध्ययनको यस्तो देखिएको हो । टीआईले जारी गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) स्कोरमा नेपाल गत वर्षको तुलनामा पनि खस्किएको देखियो । यो वर्ष नेपालले १०० मा ३४ अंक पाएको छ । १०० मा ९० अंक पाउनेको तुलनामा यो अंक धेरैथोरै हो ।
टीआईका अनुसार सूचकाङ्कमा १०० अंकले अतिस्वच्छ र शून्यले अति भ्रष्ट मुलुक जनाउँछ । टीआई नेपालले नै भनेको छ– नेपालको यसपटकको सीपीआई स्कोर घटेको छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध प्रभावकारीरूपले कामकारबाहीअघि बढाउन अत्यन्त जरुरी भएको औँल्याउँछ । उसले थप भनेको छ, यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वल्र्ड इकोनोमिक फोरम र ग्लोबल इन्साइटको सर्वेक्षणका तथ्याङ्कले मूलतः निर्यात, सेवा, कर, ठेक्का व्यवसाय, आयातजस्ता सरकार र व्यावसायिक क्षेत्रसम्बन्धी कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखिन्छ । यो अध्ययन कसरी हुन्छ भन्नेले पनि यसको गाम्भीर्य जनाउँछ । छ वटा विख्यात अन्तर्राष्ट्रिय संस्थाका सर्वेक्षणलाई आधार मानिएको अवस्था छ । यसमा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र मेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) आदि पर्छन् । त्यसकारण पनि यो प्रतिवेदन संसारभरका लागि मान्य हुन्छ । कुन देश कति भ्रष्टाचार युक्त र मुक्त छन् भन्ने चिनिने र चिनाउने आधार नै यही प्रतिवेदन हो । उल्लेखित संस्थाले विभिन्न क्षेत्र समेटेर गरेका अध्ययनलाई कसैले चुनौती दिने अवस्था नै आउँदैन ।
सीपीआईको यो अध्ययनमा विश्वका दुईतिहाइ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । नेपाल यहीभित्र परेको छ । भ्रष्टाचारका बारेमा यस्तो प्रतिवेदन आउँदा सरकारले भने कतै सामान्यरूपको समेत प्रतिक्रिया दिएको पाइएन । यसको अर्थ हो भ्रष्टाचार जति बढे पनि त्यो सामान्यीकरणमा परिणत भइसक्यो । गएको वर्ष अर्थात् अध्ययन भएको वर्ष देशमा दुई त्यस्ता व्यक्तिले शासन गरेका थिए, जो आफूलाई सुशासनको अब्बल मान्छन् । एकजना भ्रष्टाचारीको मुख नहेर्ने भनेर दिनैपिच्छे कसम खाइरहन्छन् भने अर्का देशमा आफूले सुशासन कायम गरेका कारण आफ्नो सरकार ढलेको भनेर दिनमा पचासचोटी दोहोर्याइरहेका पाइन्छन् । तर अवस्था भने उनकै पालामा यतिविधि बिग्रिसकेछ ।
टीआई नेपालका अध्यक्षका अनुसार भ्रष्टाचार बढ्नु समग्र देशकै कमजोरी हो । भन्छन्– राजनीतिज्ञदेखि नियमनकारी निकाय र भ्रष्टाचार नियन्त्रणका संयन्त्रहरूकै कमजोरीका कारण भ्रष्टाचार बढ्न गयो, भ्रष्टाचार कुनै एउटा क्षेत्र वा अंगमा मात्र होइन, समग्र क्षेत्रमै विस्तारित छ । यसको प्रतिबिम्ब सीपीआई हो ।
यो ठाउँमा भन्नैपर्छ सरकार भ्रष्टाचार हुन दिँदैन भने भएका भ्रष्टाचारको जवाफदेही पनि हुनुपर्छ । दुईजना त्यस्तोव्यक्ति प्रधानमन्त्री भएको बेला भ्रष्टाचार बढेको प्रतिवेदन आएको हो । कम्तीमा यसका बारे त उनले बोल्नुपर्ने हो तर मौन छन् । यही हो दुःखद् पक्ष ।