काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरणअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय छ दशमलव ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद व्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ८७ दशमलव ९६ प्रतिशत बढेको छ भने शुल्क तथा कमिसन आम्दानी ३७ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६ दशमलव ८७ प्रतिशत बढेको छ भने सञ्चालन नाफा एक सय छ दशमलव ६२ प्रतिशत बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य नाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १२ पैसा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ दुई सय १९ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४० दशमलव ९१ गुणा रहेको छ । एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ ।
लघुवित्तले पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २२ अर्ब नौ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रियस्तरको यो संस्थाले स्थापनाको सुरुदेखि नै वित्तीय पहुँच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, वित्तीय समावेशीकरण बढाउने उद्देश्यले नेपालभर नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । हाल देशभर संस्थाले एक सय ८४ वटा शाखा कार्यालयमार्फत ७४ जिल्लामा दुई लाख ३५ हजार आठ सय ३० जना विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ । यस संस्थाले नवीनतम प्रविधिहरूको प्रयोग गरी छिटोछरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए । उनले संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यमजस्ता व्यवसायहरू सञ्चालनको लागि विशेष गरी महिलाहरूलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताए ।