काठमाडौं । ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एड्भान्स्ड इन्टिलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ ।
डिपाइलट ६००, डिपाइलट ३००, र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बीवाईडीको प्रतिबद्धता देखाउँछ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउनेछ । बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा विनाकुनै अतिरिक्त शुल्क दिने जनाएको छ । कम्पनीका अनुसार सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ । यसको मूल्य पाँच हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गरेको थियो । तर बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहजरूपमा उपलब्ध गराउन लागेको हो ।
बीवाईडीका सीईओ वाङ छुवान्फुलेले राम्रो प्रविधिमा सबैको पहुँचमा हुनुपर्ने बताए । डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्यरूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।
विशेषगरी डिपाइलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा ५आर१२भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ । यसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ । यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । राजमार्ग र सहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाइलट (एचएनओए) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर ¥याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफैँ लेन परिवर्तन गर्ने र केही अवरोधहरू छलेर अगाडि बढ्नेजस्ता कामहरू पूरा गर्न सक्छ । यसका साथै, अटोमेटेड भ्याले पार्किङ (एभीपी) प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफैँ पार्क हुनेजस्ता सुविधाहरू प्रदान गर्छ । यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ ।
मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जानेजस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफैँ रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्नेजस्ता सुविधाहरू प्रदान गर्छ । बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ ।
डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ । एचएनओअन्तर्गत, डिपाइलट १०० ले एक हजार किलोमिटरसम्म विनाकुनै म्यानुअल हस्तक्षेप स्वचालितरूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सि ब्रकिङ (एईबी) प्रणालीले १०० किमि प्रतिघण्टासम्म गाडीलाई भरपर्दोरूपमा रोक्न सक्छ । भविष्यमा १२० किमि प्रतिघण्टा र १४० किमि प्रतिघण्टासम्मको गति सम्हाल्ने योजना रहेको कम्पनीले जनाएको छ । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ ।