खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको जानकारी दिए । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । स्थानीयवासीले आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको बताएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको प्रहरी निरीक्षक राईले बताएका छन् । क्षतिको विवरण हेर्दा करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए । उनले आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको बताए ।
जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली आगो निभाउन हलेसी पुगेको थियो । स्थानीय सयन्द्र राईले पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको जानकारी दिए ।