बुटवल । भारतको कुम्भमेला स्नान गर्न रुपन्देहीको देवदहबाट गएका तिर्थालु सवार गाडी दुर्घटना भएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्माको मृत्यु भएको छ ।
देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले भारतीय प्रहरीले ३ जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनका अनुसार घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको छ ।