काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेनिस क्रोनर बैंक नोट सटही गर्न सर्वसाधारणको नाममा सार्वजनिक सूचना जारी गरेको छ । सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले आफूसँग भएको यस्तो नोट सटही गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात् कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर (डिकेके) बैंक नोटहरू आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र प्रचलित व्यवस्थाबमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरूबाट सटही गर्नु/गराउनु हुन सम्बन्धित सबैका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’
२०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात् त्यस्ता बैंक नोटहरू सटही गर्न यस बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेञ्जरहरू र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरू बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटहरूसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको छ । राष्ट्र बैंकले सूचनामार्फत भनेको छ ।