सुबास बस्नेत
दोलखा, साउन ८
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा बनेको नवनिर्मित्त स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको समाचार आर्थिक दैनिकमा प्रकाशित भएपछि विवादमा तानिएको नवनिर्मित स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाले अनुगमन गरेको छ । गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत लिलाबहादुर बस्नेतको नेतृत्वमा गएको गाउँपालिकाको प्राविधिक, सूचना अधिकृतलगायत छ जनाको टोलीले नवनिर्मित स्वास्थ्य चौकी भवनको अनुगमन गरेको हो ।
गाउँपालिकाले अनुगमन गर्दा प्राविधिकरूपमा त्रुटि भेटेको जनाएको छ । पानी चुहिने समस्या तत्काल नदेखिएको भए पनि झ्यालढोका र भवनको पेटीमा समस्या देखिएकाले तत्काल सुधार गर्न उपभोक्ता समितिलाई सुझाव दिएको गौरीशंकर गाउँपालिका निमित्त प्रशासकीय अधिकृत लिलाबहादुर बस्नेतले जानकारी दिए । केही दिनअघि नवनिर्मित भवनको गुणस्तरका विषयमा स्थानीय र वडाका जनप्रतिनिधिले प्रश्न उठाएका थिए ।
जुँगुका स्थानीयले नवनिर्मित भवन गुणस्तरहीन, पानी चुहिने, भवनको पूरै काम नसकी अनुगमन र सार्वजनिक सुनवाइबिना पालिकाले सबै रकम भुक्तानी गरेको यसअघि आर्थिक दैनिकलाई बताएका थिए । त्यसैगरी स्थानीयले भवन निर्माण सम्पन्न भए पनि भवनको पाटेसन वाल सिधा नभएको, झ्यालढोका नलाग्ने र भवनको छाना थाले भएकाले कोठाभित्र पानी चुहिनेलगायतको समस्या देखिएकोले उपभोक्ता समितिले पाल ओढाएर राखेको आरोप लगाएका थिए ।
अनुगमनमा गएको पालिकाको टोलीले भवन बनाउँदा उपभोक्ता समितिले स्थानीय निर्माण व्यवसायीलाई सहमतिमा भवन निर्माणको जिम्मा दिएको स्वीकार्दै सार्वजनिक सुनवाइ हुन बाँकी रहेको पनि बताएको छ । भवनमा ओढाएको पाल भवनमा लगाएको रङ पानीले बगाउने भएकोले लगाएको र झ्यालढोका नलाग्ने समस्या काठ पसाङ्गिएको कारण भएको अनुगमन टोलीको भनाइ छ । भवनभित्र छानाबाट पानी चुहिएको नभई झ्यालढोकामा देखिएको समस्याका कारण छर्के पानी भित्र छिर्ने गरे पनि अहिले त्यो समस्या सुधार भएको टोलिको दाबी छ ।
भवन अनुगमन टोलीले भवन निर्माणको काम अझै केही बाँकी रहेकाले तत्काल काम सकेर भवनको फिनिसिङ गर्न र भवनअघिपछि तथा दायाँबायाँ पेटी वाल लगाउन लगाएको छ । भवन निर्माणको काम बाँकी नै रहे पनि प्रदेश सरकार र पालिकाले लागत रकम भुक्तानी दिइसकेको छ । उक्त स्वास्थ्य चौकी भवन निर्माणको लागि वाग्मती सरकारको ५० लाख र गाउँपालिकाको ३० लाख रूपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिइसकेको जनाएको छ ।