कर्णाली । ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन् । उनले आजको नेपाली जनताको लामो त्याग, बलिदान र समर्पणबाट मुलुकमा प्रजातन्त्रको स्थापना भएको बताए ।
सम्पूर्ण नेपालीलाई बुधबार शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले शुभकामना सन्देश जारी गर्दै भनेका छन, “नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण छ, यसले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अबलम्वन गर्दै जनताका आशा अपेक्षा पूरा गर्नेतर्फ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”
उनले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनता आफैले संविधान बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति थियो भन्ने बिर्सन नहुने जनाएका छन् । राज्य शक्तिको स्रोत जनता मात्र भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने उनले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरेका छन् । उनले नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सकेमात्र यो व्यवस्था दिगो हुने बताए ।