काठमाडौं,राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापान एयरलाइन्ससँग कनेक्टिङ फ्लाइट सुरु गरेको छ । यससम्बन्धमा नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सबीच सम्झौता भएको हो ।सम्झौतापछि नेपालबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछि अमेरिका र पश्चिमा मुलुकसँगै कोरियामा यात्रा गर्न सकिने भएको छ ।
सम्झौताअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेकइन सुविधा पाइने भएको छ । त्यस्तै सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटकहरु नेपाल सहजरुपमा आउन सक्नेछन् ।यसले नेपाल वायुसेवा निगमको व्यापार विस्तार भई समग्र देशको पर्यटन प्रवद्र्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास निगमले गरेकोे छ ।
नेपाल र जापानका ध्वजावाहकमार्फत परस्पर व्यापार विस्तार हुने, यात्रुलाई सहज र किफायती हुने, विश्वभरका विभिन्न मुलुक र जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा प्रदान गर्न सकिने निगामले जनाएको छ । यस सम्झौतासँगै निगमसँग प्यासेन्जर इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने कार्गो इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २८ पुगेको छ ।