दोलखाको वैतेश्वर गाउँपालिकामा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयले ६५औं वार्षिकोत्सब मनाएको छ । सो विद्यालयले बुधबार विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सब तथा २९औँ अभिभावक दिवस मनाएको हो ।वार्षिकोत्सवको पूर्वसूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले परम्परागत शिक्षण सिकाइ विधिलाई परिवर्तन गर्न आवश्यक रहेकोे बताए । गुरुङले अहिलेको युगलाई प्रविधि र व्यवसाय तथा रोजगार केन्द्रित शिक्षाको खाँचो रहेको हुँदा विद्यालयदेखि नै भविष्यमा रोजगार दिने सक्ने शिक्षण सिकाइको विकल्प खोज्नुपर्नेमा जोड दिए । समाज निर्माणको आधारस्तम्भ खडा गर्ने माध्यम शिक्षा भएकाले राज्यले पनि परम्परागत शिक्षण विधिको विकल्प खोज्नुपर्ने अहिले आवश्यकता भएको उनले बताए । परम्परागत र पुरानो शिक्षण विधिले स्वदेशमै रोजगार सिर्जना गर्न नसक्दा सयौं विद्यार्थी रोजगार खोज्दै विदेशिने गरेको उनको भनाइ छ ।
वैतेश्वर गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालय २०१६ सालमा स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईंले जानकारी दिए । हाल उक्त विद्यालयमा नौ सयभन्दा बढी विद्यार्थी रहेका छन् । वार्षिकोत्सबको अवसरमा विद्यालयले वार्षिक एसईई, कक्षा १२ तथा क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा विद्यालयका विषय शिक्षकहरूलाई नगदसहित सम्मान समेत गरेको छ । यस्तै, उत्कृष्ट अभिभावकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको पाँच वर्षे स्मारिका समेत विमोचन गरेको थियो ।