एलोन मस्कको कम्पनी टेस्ला इंकले भारतमा भर्ना सुरु गरेको छ । यस कदमले टेस्ला चाँडै भारतमा प्रवेश गर्न सक्ने संकेत गरेको छ । टेस्ला इंकले लिंक्डइनमा फेब्रुअरी १७ मा भारतमा काम गर्नका लागि विभिन्न १३ पदमा आवेदन खुलाएको छ । यसमा ग्राहक सेवा र ब्याकएन्ड सञ्चालनसँग सम्बन्धित १३ पदहरू समावेश छन् । हालै, प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा टेस्लाका सीईओ मस्कले उनलाई भेटेका थिए ।
टेस्ला र भारतबीच धेरै वर्षदेखि वार्ता हुँदै आएको थियो । तर उच्च आयात शुल्कका कारण टेस्ला भारतमा आउनसकेको थिएन । पछिल्लो समय भारतले ४० हजार डलरमाथिका कारहरूमा आयात शुल्क एक सय १० प्रतिशतबाट घटाएर ७० प्रतिशतमाझारेको छ ।
कारखानाको लागि ठाउँ खोज्दै
टेस्लाले भारतमा पनि आफ्नो प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ । कम्पनी जग्गा खोज्न व्यस्त छ । कम्पनीले अटोमोटिभ हब रहेका क्षेत्रहरूमा प्लान्टहरू स्थापना गर्ने प्रयास गरिरहेको छ । महाराष्ट्र, गुजरात र तमिलनाडुमा प्राथमिकता दिएर जग्गा खोजिरहेको बताइएको छ ।