काठमाडौं, साउन ८
हिमालयन बैंक लिमिटेडले सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उक्तदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठान सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग प्रदान गरेको हो । बैंकका अनुसार प्रतिष्ठानलाई पाँच लाख मूल्यबराबरको ५० किलो क्षमताको लुगा धुने मेसिन र १५ किलो क्षमताको हाइड्रो एक्सट्-याक्टर प्रदान गरेको हो । साथै बैंकले एक लाख ५७ हजार छ सय ३५ रुपैयाँ मूल्य बराबरको १० हजार थान ओपीडी बुक पनि सहयोग स्वरूप प्रदान गरेको छ ।
बैंकका अनुसार विसं २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । प्रतिष्ठानमार्फत अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरूको सहयोगमा सञ्चालित प्रतिष्ठानले अस्पालका साथै वृद्धाश्रम समेत सञ्चालन गरिरहेको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकसमशेर राणाले प्रतिष्ठानलाई एक समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।