काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी शाङ्च आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्तरूपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् ।
नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङ्च आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले एक कार्यक्रमका बीच सहकार्यसम्बन्धी घोषणा समेत गरेका छन् । कार्यक्रममा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरका वारेमा चर्चा गरेका थिए भने नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज विक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्था बारेमा बोल्दै नयाँ आरजेडएम ब्रान्ड थप गरिएको बारेमा चर्चा गरे । सो अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।
ईफाइभ (ई५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३ दशमलव ५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, यसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले तीन सय किलोमिटरभन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्लुएलटीपीअनुसार यसको रेन्ज तीन सय किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिक पावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने ३०० एनएमको टर्क छ । त्यसैगरी १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो बडीसहितको संरचना छ । यसमा ७७ दशमलव २८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, यसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दाबी गरिएको छ । यसमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ ।
नयाँ प्रविधिअनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरादेखि काठमाडौंसम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्ससहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ । नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउँदो बनाइएको छ । हाल जेड४, आर४, आर५, आर६ र के सिरिजमा विशेषगरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।
चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । यसैगरी पाँच देशमा एसेम्बली र सीकेडी प्लान्ट रहेको छ । शाङ्च आरजेडएम अटो सन् २०१६मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ । नेपाली बजारमा करिब ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारी साधनमार्फत अटोमोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री–वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रुपहरूमा हाल यो ग्रुपले हजारौँ सवारी साधन बिक्री गरिसकेको छ ।
हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पाट्र्स ल्याउने कार्य समेत अगाडि बढेकाले ग्राहकहरूलाई बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दाबी गरिएको छ । ई५ को मूल्य ५४ लाख २५ हजार रुपैयाँ तोकिएको छ भने आर५ को मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।