काठमाडौं । देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको विज्ञहरूले बताएका छन् । फ्रेन्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले शनिबार आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीपः एडभान्सिङ नेपाल्स फिनान्सियल ग्रोथ’ कार्यक्रममा उनीहरुले आइटी, पूर्वाधार, शैक्षिक विकासमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार वलीले देश विकासका लागि आगामी लक्ष्य के हो भन्ने निर्धारण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘देश समृद्धितर्फ लिन मानव पुँजी विकासमा सुधार आवश्यक छ । शिक्षा र स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ध्यान दिनुपर्छ’, उनले भने । यस्तै, उनले पर्यटनमा लगानी र आतिथ्य व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै, उनले कृषि, यातायातको क्षेत्रमा छिमेकी देश चीन निकै अगाडि रहेकोले आवश्यकताअनुसार चीनसँग सहकार्य र साझेदारी गर्नुपर्ने बताए । प्राडा केशव बस्यालले शिक्षा क्षेत्रको विकास र लगानीबारे सोच्नुपर्ने बेला आएको उल्लेख गरे । अब बन्ने नीति तथा कार्यक्रम प्रमाण तथा तथ्यका आधारमा बन्नुपर्नेमा उनले जोड दिए । ‘पुरानै उद्देश्यले अब काम चल्दैन । दीर्घकालीनरूपमा कसरी काम गर्नुपर्छ भन्नेमा हामी गएनौँ’, उनले भने । चीनले प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जनामा नेपालले पनि त्यो मोडल अपनाउनुपर्ने बताए ।
पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधार समग्र देश विकाससँग जोडिएकाले यसमा प्रतिफल दिने गरी लगानी गर्नुपर्नेमा जोड दिए । पूर्वाधार विकास नभई आर्थिक विकास र त्यो नभए सामाजिक विकास नहुने उनको धारणा छ । यस्तै, आईटीविज्ञ वसन्त वनले प्रविधिको गतिअनुसार काम गर्न नसके विकासको गतिपछि पर्ने उल्लेख गरे । आईटी क्षेत्रलाई विकासको मेरुदण्ड मानेर अघि बढ्नुपर्ने उनको भनाइ छ । यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उनले बताए । ‘हामीसँग अवसर र चुनौती दुवै छन् । हाम्रा कमजोरी र सामथ्र्य के हुन् त त्यसलाई केलाएर अघि बढ्नुपर्छ’, उनले भने ।
आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले विभिन्न क्षेत्रमा नेपाल र चीनसँगको सहकार्यले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । नेपालसँग स्रोत भए पनि तिनको प्रयोग गर्न नजान्दा समस्या भएको उल्लेख गर्दै उनले अब सीमित स्रोतसाधन उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।