काठमाडौं । देशभित्रका सम्भावनाहरूबाट लाभ लिने जमर्को गरिएको भए वैदेशिक लगानी हुने ठाउँमा नेपालीहरूले नै लगानी गरेर वार्षिक २०–२२ अर्ब रुपैयाँ आम्दानी गर्ने रहेछन् । यो चित्र हालै विदेशी लगानीकर्ताले लगेको लाभांश अंशले देखाएको हो । बैंकमा जम्मा हुने निक्षेपको अवस्था हेर्दा नेपालीसँग पैसा छैन भन्ने पनि होइन । त्यसमाथि लगानीलाई सहज बनाउन बैंक तथा वित्तीयसंस्थाहरू सदैव तयार छन् भन्ने देखिँदै आएको पनि छ । निरन्तररूपमा ब्याजदर घट्नु त्यसको एउटा उदाहरण हुनुपर्छ । अर्कोतर्फ निक्षेपको तुलनामा लगानी नभएकै कारण बैंकमा पैसा थुप्रिएर राष्ट्र बैंकले खिचेकोखिचेकै छ । यस्तो अवस्थामा यता कताकताबाट आएर विदेशीहरूले लगानी गर्ने र ठूलो परिमाणमा लाभांश लाने गरेका छँदैछ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी लगानीकर्ताहरूले आठ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांश लगेका छन् । गएको आर्थिक वर्षको यही अवधिमा भन्दा सात अर्ब १२ करोड ६४ लाख रुपैयाँ बढी देखियो । अघिल्लो आर्थिक वर्षको माघसम्म एक अर्ब ४१ करोड छ लाख रुपैयाँ लाभांश बाहिर गएको थियो ।
यी लाभांशहरू नेपालीले गर्नै नसक्ने काम गरेबापतका होइनन् । कुखुराको मासु पकाएर पनि लाभांश गएको छ । सिमेन्ट, रड उद्योगमा नेपालीहरू दक्ष नै छन् तर तिनमा पनि विदेशहरूको प्रवेश गराइएको छ । यस्तैयस्तै उद्योगहरूमा नेपालीको लगानी भएको थियो भने उल्लेखित प्रकारको ठूलो रकम देशभित्रै रहने थियो र यस्तो अर्बौंको लाभांश नेपालीले नै उपभोग गर्न पाउने थिए । उद्योग विभागको तथ्यांकअनुसार चालु वर्षको सात महिनामा मात्रै लाभांश वितरण भएको रकमको अंश सात गुणाले बढेको अवस्था छ । उल्लेखित आठ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांशको हिसाव त्यही अन्तर्गतको हो । विभागका सूचना अधिकारीअनुसार विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन्, लगानी प्रतिफलस्वरूप मासिक करोडौं लाभांश विदेशी लगानीकर्ताबाट विदेश जाने गरेको स्थिति छ । यो साना, मझौला र ठूला उद्योगहरूमा भएको लगानीबाट प्राप्त हुनेगरेको लाभांश अंक हो । विभागका अनुसार यस्ता उद्योगमा लगानी गर्ने र बढी लाभांश लानेमा भारतीय उद्योगी तथा व्यवसायीहरूको संख्या बढी रहेको देखिन्छ । यसको अर्थ हो छिमेकीहरू आएर यतिधेरै रकम लगिरहेका छन् भने नेपालीहरू भने लगानी गर्न पनि हिच्किचाइरहेको अवस्था एक प्रकारले दुःखद् नै मान्नुपर्छ ।
नेपालमा नेपालीहरूलाई लगानी गर्न झनै सहज हुन्छ । तर यता छिमेकी देश भारत र चीन आयरल्यान्ड, अस्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरूले लगानी गरिहेका छन् । यहाँ उल्लेख गर्न खोजिएको वैदेशिक लगानी नहोस् भन्ने सन्दर्भको होइन । त्यस्तो लगानी हुनुपर्छ तर यतिछिटै लाभांश आउने क्षेत्रमा पनि नेपालीहरू किन लगानी गर्न तत्पर देखिएका छैनन् भन्ने प्रश्न उठाउन खोजिएको मात्र हो ।
यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक रहेका छन् । गएको माघमा मात्रै छ अर्ब ९२ करोड नौ लाख रुपैयाँ लाभांश वितरण भएको देखिन्छ । यद्यपि बाह्रै महिना यस्तै हुन्छ भन्नेचाहिँ होइन । तर पनि अध्ययनहरूले लाख, करोड र अर्ब जेजति मात्राका हुन् लाभांश भने वितरण भइनैरहेको पाइन्छ । कात्तिकमा ३० लाख साउनमा छ करोड ४० लाख, भदौमा चार करोड ७६ लाख तीन करोड सात लाख मंसिरमा सात करोड ८७ लाख र पुसमा एक अर्ब ५५ करोड २० लाखका दरले लाभांश वितरण भएर बाहिरिएको छ । यी सबै नेपालीले गर्न नसक्ने क्षेत्रमा लगानी भएर यो स्तरको लाभ प्राप्तभएका भने होइनन् । यो पक्षमा सबैको ध्यान जाओस् ।