काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले थप दुई शाखा फिदिम र पाँचथरमा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा एक सय ३० औं र फागुन ९ गतेका दिन फुङ्लिङ नगरपालिका वडा नं ४ ताप्लेजुङमा एक सय ३१ औं शाखाको औपचारिक उद्घाटन गरेको हो ।
बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ उक्त शाखाको औपचारिक उद्घाटन गरेको हो । फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेस्ट बैंकका शाखाहरूको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने भएका छन् ।
फिदिम र फुङ्लिङ शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ शाखामा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरूलगायत स्थानीयवासीको उत्साहजनक उपस्थितिका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
फिदिम र फुङ्लिङमा आफ्नो एक सय ३० औं र एक सय ३१ औं शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
पञ्जाव नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको छ । बैंकले देशैभर एक सय ३१ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६७ एटीएम छन् ।