काठमाडौं । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ । फेस्टिभलको बाह्रौं संस्करण फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको हो । फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकारलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलको उद्घाटन सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् । यस्तै, परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदोस्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्वद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै, उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन् । सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिकरूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सात वटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।