काठमाडौं । दोलखाको जिरीमा ‘उहिलेको नेपाल’ फोटो प्रदर्शनी भइरहेको छ । स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघिदेखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट सुरू भएको हो । टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा क्याट्रिन हागेनले उद्घाटन गरेकी थिइन् । डा क्याट्रिनले प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकन गर्दै उनले आफ्ना पिताले भ्रमण गरेको समय र अहिलेको जिरीमा धेरै परिवर्तन भएको महसुस गरेको बताइन् । ‘पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकारात्मक र केही नकारात्मक’, उनले भनिन्, ‘यहाँ धेरै विकास भएको छ । कृषिमा मानिसहरूको सहभागिता घटेको छ । भारत र चीनका कृषि उपजको उपभोग बढेको छ । यो त्यति राम्रो कुरा होइन ।’
जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्यान्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्यान्ड र जिरीबीच घनिष्ट सम्बन्ध रहेको बताए । स्थानीय बुद्धिजीवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टेक जिरेलले टोनी हागेनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो समय जिरी आन्तरिक पर्यटनको लोकप्रीय गन्तव्य बनिरहेको छ । सो फोटो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जिरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् । ‘नेपालको स्वीजरल्यान्ड’ भनेर चिनिने जिरीको विकासमा २०१३ सालदेखि नै स्वीजरल्यान्डले सहयोग गरेको थियो ।