काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थितरूपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित बनाउने कार्य सुरु गरिएको बताएका छन् ।
काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले काठमाडौं चाहेर वा नचाहेर अहिले अव्यवस्थित र कुरूप सहरका रूपमा विकसित हुन पुगेको बताए । यसलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले काम थाल्ने उनले जानकारी दिए । उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने उल्लेख गरे । ‘धान उब्जनी हुने खेतहरूमा अहिले घरैघर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरूलाई व्यवस्थित गर्नका लागि सहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाइ थियो । ‘सहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दो कान्छो मन्त्रालयकै रूपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा सहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ’, उनले भने, ‘योभन्दाअघि मन्त्रालयमा रहेका मन्त्रीज्यूले पनि कोसिस गर्नुभएको हो । परिस्थिति मिलेन होला, हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर सहरी विकास नीति पास भएको छ ।’ उपप्रधानमन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।