काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए पनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।
महासंघका अनुसार एकदुम्जा— मरिनखोला— कपिलकोट— लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती— बिरुवा— ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि हालै अज्ञात समूहले हातहतियारसहित आक्रमण गरी सख्त घाइते बनाएको छ । महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी फागुन ८ गते दिउँसो भएको सो घटनाप्रति खेद व्यक्त गरेका छन् । साथै, उक्त आक्रमणमा संलग्नलाई तत्काल कानुनी कठघरामा ल्याई कारबाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीसहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कारबाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेशागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रिन बाध्य हुने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।