किएभ । रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको छ । यस युद्धमा हालसम्म दुवै देशका दुई लाखभन्दा बढी सैनिक मारिएका छन् । लगभग आठ लाख सैनिक घाइते भएका छन् । युक्रेनमा एक करोडभन्दा बढी मानिसहरु घरबारविहीन भएका छन् । यीमध्ये २० लाख बालबालिका छन् जसले युद्धको त्रासदीसँग संघर्ष गरिरहेका छन् ।
यो युद्ध दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा ठूलो विनाश हो । २४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेश रुसी सेनाले युक्रेनको राजधानी कीएभमा दुईतर्फबाट आक्रमण गरेको थियो । युक्रेनमा लडाईँ सुरु हुँदा रुसले लगभग २७ सय लडाकु ट्याङ्कहरु तैनाथ गरेको थियो ।
रुसी आक्रमणपछि राजधानी कीएभका हजारौँ मानिसहरुले विभिन्न ठाउँमा आश्रय लिएका थिए । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसारा २० लाखभन्दा बढी बालबालिकाले सहयोग खोज्न समस्या भोग्नुपरेको छ ।
युक्रेनको साढे तीन खर्ब डलरबराबरको स्रोत रुसको कब्जामा
रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलरबराबरको युक्रेनको महत्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ ।
किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ ।
तर, युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ । ‘दुर्भाग्यवश, अस्थायीरूपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ’, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने ।
स्विरिडेन्कोका अनुसार भण्डारहरूको केही तथ्याङ्कहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्याङ्कमा आधारित छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरूजस्ता महत्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् ।
ट्रम्प र उनका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युक्रेनको एक स्रोतले शनिबार एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन ‘तयार हुनुहुन्न’ ।