काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९ औं शाखा ललितपुरको हरिसिद्धिमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
हरिसिद्धिमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै उनीहरूको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको र यस नयाँ शाखाबाट हरिसिद्धि वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई शुभकामना समेत व्यक्त गरे । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९९ वटा शाखा, एक सय ६४ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।