काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच एचएमडी क्रेस्ट फाइभजी नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो फोनलाई प्रयोगकर्ताको अद्वितीय विशेषतालाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरूका लागि हातको इसाराले चलाउन मिल्ने ह्यान्ड्स फ्रि सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाइजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको छ । यसबाहेक आफैँले खिच्ने पोट्र्रेट फोटोलाई अतिआकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोसन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ । एक्सन सटहरूका लागि यसमा भएको फ्ल्यास सटले चलायमान वस्तुहरूको फोटो सहजरूपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरूको मनमोहक फोटोग्राफीका लागि सघाउँछन् ।
यस्तै, एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ । यसमा छ दशमलव ६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले प्रयोग भएको छ । डिभाइसको निरन्तर र अविच्छिन्न प्रयोगको सुनिश्चितताका लागि यसमा आठ सय चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको पाँच हजार एमएएच ब्याट्री समावेश गरिएको छ । यसैगरी एप्लिकेसन, फोटो तथा मिडिया भण्डारणका लागि पर्याप्त स्थान प्रदान गर्न १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याम उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
साथै, एचएमडी क्रेस्टमा रिपेयरेबिलिटी १.० राखिएको छ, जसका कारण प्रयोगकर्ताले ब्याक प्यानल, ब्याट्री, डिस्प्ले तथा चार्जिङ पोर्ट आफैंले सजिलै परिवर्तन गर्न सक्छन् । एचएमडी क्रेस्ट मिडनाइट ब्लु रंगमा १८ हजार नौ सय ९९ रुपैयाँमा नेपालभरका मोबाइल पसलहरूमा खरिदका लागि उपलब्ध हुनेछ ।