काठमाडौं । मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट ईभी(विद्युतीय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तीनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।
कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा ईभी माइक्रो सेवाको औपचारिकरूपमा उद्घाटन गरेका छन् । ‘हामीले गत कात्तिकमै कम्पनी मातहत रहेर ईभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरूप हाल पाँच वटा ईभी माइक्रो समावेश भएको छ । अरू थप हुँदैछ’, सैंजुले भने । हाललाई खोपासीबाट पाँच वटा र शंखुबाट पाँच वटा गरी १० वटा ईभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा पाँच वटा ईभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए । खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो ईभी सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर ईभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।
सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनिबसबाट सेवा दिइरहेका केही ग्रामीण भेगमा जनघनत्वको कमीले गर्दा ठूलो बस सञ्चालन गर्नमा कठिनाई हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्ने यात्रुलाई छिटोछरितो सेवा दिनका लागि थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको हो ।’