काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय (नेपाल, भारत, चीन) पर्यटन एक्स्पो सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा सोमबारदेखि सो एक्स्पो सुरु भएको हो ।
फागुन १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटर्ससहित छ सयभन्दा बढी सहभागिता रहेको छ । पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार र सरोकारवालाहरूको संयोजनमा आयोजित एक्स्पोले तीन देशका पर्यटन र आतिथ्य क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा ल्याएको छ । यसले व्यावसायिक अनुभव र व्यापार अवसरहरूको आदानप्रदान गर्न मद्दत गर्ने पर्यटन बोर्डले विश्वास लिएको छ ।
एक्स्पोले तीन देशहरू बीचको सम्पर्क सुदृढ गर्दै, पर्यटन गतिविधिको वृद्धि गर्ने उद्देश्य राखेको छ । नेपाल भ्रमण गर्ने पर्यटकहरू र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग प्रि–एक्स्पो गन्तव्य अनुभवको अवसर पनि प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एक्स्पो समग्र पर्यटन क्षेत्रको लागि गौरवको क्षण भएको बताए । ‘यो एक्स्पोले भारत र चीन जस्ता ठूला आउटबाउन्ड पर्यटन बजारहरूलाई नेपालमा एकत्रित गराउन समग्र पर्यटन क्षेत्र एकजुट भएर काम गरेको छ’, उनले भने । पोखरालाई ‘तालहरूको सहर’ र ‘हिमालय र ट्रेकिङको प्रवेशद्वार’का रूपमा चिनिन्छ, विश्वका १४ अग्ला हिमालमध्ये तीन– धौलागिरी, अन्नपूर्ण–१ र मनास्लु हिमालको दृश्यावलोकन गर्नका लागि प्रसिद्ध छ । पोखरा प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले गर्दा पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
एक्स्पोले पोखरालाई माइस (बैठक, सम्मेलन, प्रोत्साहन, विवाह, उत्सव, महोत्सव, मेला र प्रदर्शनी) पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यस्तै, भारत र चीनजस्ता उदीयमान आर्थिक शक्तिहरूबाट नेपालमा अधिक पर्यटक ल्याउने एक्स्पोको उद्देश्य रहेको छ । यसले तीन देशहरू बीच व्यापारिक सञ्जाल र सहकार्यको अवसरहरू सिर्जना गर्दै, पर्यटन र आतिथ्य क्षेत्रको सुदृढीकरण गर्ने विश्वास व्यक्त गरिएको छ ।