बर्लिन । जर्मनीमा आइतबार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले चुनाव हारेका छन् ।
उनको सोसल डेमोक््रयाट्स पार्टी (एसडीएफ)ले छ सय ३० सिटमध्ये एक सय २१ सिट मात्र जित्न सफल भएको छ । उनले साढे १६ प्रतिशत मात्र मत पाएका छन्् । चान्सलर स्कोल्जले हार स्वीकार गरेका छन् । चुनावी नतिजामा उनको पार्टी तेस्रो स्थानमा पुगेको छ ।
रूढिवादी विपक्षी नेता फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीको गठबन्धनले २०८ सिट जितेको छ। उनले २८ दशमलव ५० प्रतिशत मत पाए ।
चुनावमा दोस्रो ठूलो जित अति दक्षिणपन्थी पार्टी (एएफडी)ले हासिल गरेको छ । यो पार्टीले एक सय ५१ सिट जितेको छ । पार्टीले २० दशमलव ८० मत पाएको छ । दोस्रो विश्वयुद्धपछि पहिलो पटक, जर्मनीमा कुनै कट्टरपन्थी दक्षिणपन्थी पार्टीले यति धेरै सिट जितेको छ ।
जर्मनीमा बहुमतको लागि तीन सय १५ सिट आवश्यक पर्दछ र कुनै पनि दलले आफैँले यो संख्यामा पुग्न सक्ने देखिँदैन । त्यसैले गठबन्धन सरकार गठन हुने निश्चित मानिन्छ ।