काठमाडौं, साउन ९
सरकारी छाप दस्तखत कीर्ते र ठगी मुुद्दाका फरार प्रतिवादी हरिशरण महत पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार मालपोत कार्यालय कलंकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हरिशरण महत समेत भएको सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दामा उच्च अदालत पाटनको वि.सं. २०७० चैत १७ गतेको फैसलाले साबिक ललितपुर जिल्ला मतिखेल गा.वि.स. वडा नं. ३ भई हाल जिल्ला ललितपुर महांकाल गा.पा. वडा नं. २ बस्ने वर्ष ४३ का हरिशरण महतलाई २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना हुुने ठहर गरेको थियो ।
उक्त फैसलालगत्तै सजाय बेरुजु रही फरार रहेका महतलाई यही साउन ७ गते ललितपुरको सातदोबाटोबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार प्रतिवादी हरिशरण महत समेतका प्रतिवादीहरुले लोप्साङ लामा र निजकी श्रीमती च्युङ्ताङ् लामाको नाममा संयुक्त दर्ता रहेको साबिक जिल्ला कठमाडौं सीतापाइला गा.वि.स. वडा नं. ९, हाल नागार्जुन न.पा. वडा नं. ५ स्थित कित्ता नंबर ८१८, क्षेत्रफल २–०–२–० भएको जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भीम बहादुर राई समेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजातहरु नक्कली बनाई उक्त जग्गा जिल्ला सिन्धुपाल्चोक फुल्पिंकट्टी गा.वि.स. वडा नं. १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई जिल्ला कास्की साविक पोखरा उ.म.न.पा. वडा नं. ३ वस्ने प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी मिति २०६४ चैत २४ मा ७५ लाख मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर गर्दै उल्लिखित सजाय हुने गरी फैसला भएको हो ।
सीआईबीले सोही कसुरमा संलग्न मालपोत कार्यालय कलंकीका ख. भीम बहादुर राईलाई वि.सं. २०७४ जेठ २२ गते नै पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिसकेको जानकारी दिएको छ ।