काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।
कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी बिहीबार र शुक्रबार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनमा डिजिटल अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने बताए । काठमाडौंमा हुने सम्मेलनमा नेपाल, संयुक्त अधिराज्य (बेलायत), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे, रुसलगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुनविज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनका विभिन्न सत्रमा १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधको विविध आयामका साथै अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका प्रभावकारी विधिको विषयमा गहन छलफल गरिने महान्यायाधिवक्ता बडालले बताए ।
प्रविधिको तीव्र विकाससँगै डिजिटल प्रविधिको दुरुपयोग गर्दै हुने अपराधको कसुर वारदातको तरह थप जटिल, विभिन्न प्रकारका कसुर अन्तरसम्बन्धित तथा सङ्गठित बन्दै गएको हुँदा सम्मेलनमा प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइवर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनीयता उल्लङ्घन, डिजिटल प्रमाण संकलन विधि, अन्तर्राष्ट्रिय कानुनी सहकार्य तथा साइबर कानुनी नीति निर्माणजस्ता विषयमा कार्यक्रम प्रस्तुत हुनेछन् ।