काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले एक बराबर एकको अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ६० करोड रुपैयाँ बराबरको ६० लाख हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कालिञ्चोक दर्शन लिमिटेडको रजिस्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आइतबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाउँपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएका सहायक कम्पनी हो ।