काठमाडौं । काठमाडौंका दुई सामुदायिक विद्यालयहरूमा सञ्चालित ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सकिएको छ । काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा सो परियोजना सञ्चालन भएको थियो ।
यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो । २०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङजस्ता अभ्यासहरूलाई प्रवद्र्धन गरेको छ । साथै, यस कार्यक्रमअन्तर्गत स्वच्छता र सहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधिहरू पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिक विद्यालय र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।
समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थित महानुभावहरूलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए । विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् । संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्याङ्कन पनि गरिनेछ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा परियोजनाको समापन गरिएको थियो ।