ढाका । बंगलादेश र पाकिस्तानले दशकौँ देखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बंगलादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरू भएको हो ।
यी दुई देश कुनै समय एउटै राष्ट्र थिए तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बंगलादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो ।
यद्यपि, लामो समयदेखि बंगलादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो, उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए । उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ र अनुसन्धानका लागि बंगलादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ तर भूतपूर्व प्रधामन्त्री हसिनाले अनुरोधलाई वेवास्था गर्दै आएका छन् । त्यसयता भारत र बंगलादेशको नयाँ सरकारबीचको सम्बन्धमा चिसोपन आएको छ, जसले गर्दा इस्लामाबाद र ढाकाले बिस्तारै सम्बन्धलाई पुनः निर्माण गर्ने अनुकूलता बनेको छ ।
सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको कराँचीबाट बंगलादेशको चटगाउका लागि कन्टेनर जहाज चल्न थालेपछि यी दुई देशबीच प्रत्यक्ष निजी व्यापार पुनः सुरु भएको हो । दशकौँपछि यी दुई देशबीच सिधा यात्रा गर्ने यो पहिलो मालवाहक जहाज थियो ।
‘पहिलो पटक हामीले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेका छौँ र यो दुई देशबीचको पहिलो सरकार–सरकारबीचको सम्झौता हो’, ढाकास्थित खाद्य मन्त्रालयका वरिष्ठ अधिकारी जियाउद्दीन अहमदले मंगलबार भने । बंगलादेशको खाद्य महानिर्देशनालयले जनवरीमा सरकारी स्वामित्वको ट्रेडिङ कर्पोरेसन अफ पाकिस्तान (टीसीपी)सँग चामल आयातका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
अहमदका अनुसार पाकिस्तानसँगको व्यापारले ‘कुल लागतमा आपूर्तिको स्रोतहरू विकास र प्रतिस्पर्धात्मक मूल्य निर्धारणको नयाँ अवसर’ प्रदान गर्दछ ।