वासिङ्टन । इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको आरोपमा अमेरिकी सरकारले भारतमा रहेका चार कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार, अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।
अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुनेगरेको बताएको छ । डोनाल्ड ट्रम्पको ‘अधिकतम दबाब’ नीतिअन्तर्गत, अमेरिकाले इरानको आम्दानीको स्रोत रोक्नसक्ने त्यस्ता नेटवर्कहरूविरुद्ध कारबाही गरिरहेको छ ।
अमेरिकी ट्रेजरी विभागले भनेको छ, ‘आज प्रतिबन्ध लगाइएकाहरूमा यूएई र हङकङका तेल दलालहरू, भारत र चीनका ट्यांकर सञ्चालकहरू र प्रबन्धकहरू, इरानको राष्ट्रिय इरानी तेल कम्पनी र इरानी तेल टर्मिनल कम्पनीका प्रमुखहरू समावेश छन् । यिनीहरूले इरानको अस्थिर गतिविधिहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।’
अमेरिकी विदेश सम्पत्ति नियन्त्रण कार्यालय र विदेश विभागले भारतीय कम्पनीहरु फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर), अस्टिनसिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड (दिल्ली–एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर) माथि प्रतिबन्ध लगाइएको बताएको छ । यी चार कम्पनीमध्ये तीनवटालाई इरानी तेल र पेट्रोलियम उत्पादनहरूको ढुवानीमा संलग्न जहाजहरूको व्यावसायिक र प्राविधिक व्यवस्थापनका कारण प्रतिबन्ध लगाइएको थियो। जब कि इरानी पेट्रोलियमको ढुवानीमा संलग्न भएको कारणले कोसमोस लाइन्सलाई प्रतिबन्ध लगाइएको थियो ।