नेपाल सरकारले पैसा व्यवस्था गरिदिएपछि भारतबाट बिजुली खरिद गरेर ल्याएर घरायसी प्रयोजनमा लोडसेडिङ हटाएर जस लिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो बीचमा अर्बौँ रुपैयाँको अनियमितता गरेका घटना सार्वजनिक हुन थालेका छन् ।भूमिगत लाइन वितरणमा प्रयोग भएको पाइप गुणस्तरहीन भएको पुष्टि भएको केही समयपछि नै प्राधिकरणले टेन्डरमार्फत खरिद गरेर सर्वसाधारणका लागि वितरण गरेका बिजुलीका मिटर पनि गुणस्तरहीन भएको पुष्टि भएको छ । कुलमानको निर्देशनमा भएका खरिदमा एकपछि अर्को गुणस्तरहीन र अनियमितता फेला परे पनि सम्बन्धित निकायले कारबाही गर्नुको सट्टा मौन बसेर कुलमानलाई अनियमिततामा हौसला दिइरहेको छ ।
प्राधिकरणले चार लाख थान घरायसी प्रयोजनका लागि प्रयोग हुने बिजुली मिटर खरिदको लागि सन् २०२४ को मे ५ मा सप्लाइ, आपूर्ति र ढुवानी गर्न बोलपत्र आह्वान गरेको थियो । ३५ करोड ८८ लाख रुपैयाँको उक्त टेन्डर चीनको बेइजिङमा रहेको जिनग्वाङ ई बेइफाङ इन्स्ट्रुमेन्ट कम्पनीलाई परेको थियो । सो टेन्डर रकम भ्याट र करबाहेक हो । ती ‘इलेक्ट्रोनिक इनर्जी मिटर’ प्लिफर प्रुफ बक्सभित्र हुन्छ । टेन्डर पार्ने कम्पनीले मिटर ल्याएपछि प्राधिकरणले गाउँ–गाउँमा वितरण गरेको थियो । वितरित बिजुली मिटरहरू धमाधम जल्ने तथा सही तथ्याङ्क दिन छाडेपछि गाउँ–गाउँबाट प्राधिकरणका सम्बन्धित कार्यालयमै फिर्ता हुन थालेका छन् ।
वितरण गर्नुअघि नै भारतमा गरिएको परीक्षणमा उक्त मिटर गुणस्तरहीन भएको पुष्टि भएको थियो । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान र सप्लाइ कम्पनीको मिलेमतोमा परीक्षणको रिपोर्ट लुकाएर मिटर स्वीकार गरी वितरण गरिएको स्रोतको दाबी छ । गाउँबाट मिटर फर्कने तर गोदाममा मिटरको अभाव भएपछि पुराना मिटर दिएर टालटुल गर्ने काम प्राधिकरणले गरिरहेको छ । चीनले सप्लाइ गरेको बिजुली मिटरहरू भारतको सेन्ट्रल पावर रिसर्च इन्स्टिच्युट (सीपीआरआई)मा परीक्षण गरिएको थियो । नेपालमा परीक्षण गर्ने ल्याब नभएको कारण प्राधिकरणले आफ्नो नजिकको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ल्याबमा परीक्षण गर्नेगरेको छ ।
नेपाल आएका मिटर गुणस्तरहीन भए पनि मिलेमतोमा स्वीकार गरेको कारण कुलमानले कारबाहीको प्रक्रिया अगाडि नबढाएका हुन् । वितरितमध्ये झण्डै ८० हजार थान मिटर फिर्ता गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । मिटर फिर्ता गरे पनि नयाँ मिटर दिनसक्ने अवस्थमा प्राधिकरण छैन । अहिले टेन्डरपछि मिटर आउँछ भन्दै पुराना मिटर दिएर काम चलाउने प्रयास प्राधिकरणले गरिरहेको छ । मिटर, लाइन भूमिगत गर्ने पाइप मात्र होइन बिजुली प्रवाह गर्ने तार र अन्य उपकरणहरु पनि गुणस्तरहीन स्वीकार गरेर कुलमानले करोडौँ अनियमितता गरिरहेका छन् ।
पछिल्लो समयमा भारतसँग महँगोमा बिजुली खरिद गर्ने भनेर सम्झौता गरेर प्राधिकरणलाई आर्थिकरूपमा थप जर्जर बनाउने प्रयास कुलमानले गरेका छन् । आफ्नो दोस्रो कार्यकाल पनि पाँच महिना मात्र बाँकी रहेको र यहीबीचमा सरकारले कुन दिन बिदा दिने हो भन्दै कुलमानले धेरै अनियमितता गरिरहेको स्रोतको दाबी छ । कुलमानको अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक दर्जन बढी उजुरी परे पनि अख्तियार छानबिन नगरी मौन बसेको छ । अख्तियारका प्रमुख प्रेम राइको कारण कुलमानमाथिको छानबिन रोकिएको बताइएको छ । अख्तियारमा सेटिङ गरेको कारण अहिले कुलमान छानबिन नहुने भन्दै ऊर्जा मन्त्रीलाई पनि नटेरी काम गरिरहेका छन् ।