काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा बुधबार भएको भेटवार्तामा उनले नेपाल मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको बताइन् । सीमित स्रोत र साधनका बाबजुद पनि मानव अधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रहिआएको उनको भनाइ छ । नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै उनले नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन् ।
मन्त्री डा. देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् । उक्त भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत सहभागी थिए ।