काठमाडौं । महाशिवरात्रि तथा २६२औँ सेना दिवस नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सेनाले बुधबार आफ्नो २६२औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा राष्ट्रपति पौडेलले पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै, उनले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८१’ वार्षिक पत्रिका विमोचन गरेका थिए । साथै, उनले ‘फ्रि फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर रानामगरलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्यान्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरूप उपहार समेत प्रदान गरेका थिए । यसअघि सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो ।
समारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत भेषभूषा झल्किने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । सो अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै, सेनाको टोलीबाट संगठनको प्रतीक चिह्न षट्कोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि टुँडिखेल पुगेका थिए ।
साथै, भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको वार्षिकोत्सव तथा शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।