काठमाडौं । पियोर इनर्जी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजी ८० करोड रूपैयाँमध्येबाट दुई प्रतिशतको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ६० लाख रूपैयाँ बराबरको एक लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानीयवासीहरू र जारी पुँजीको १८ प्रतिशतका दरले १४ करोड ४० लाख रूपैयाँमध्येको १० प्रतिशतका दरले हुन आउने एक करोड ४४ लाख रूपैयाँ बराबरको एक लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरूको लागि बिक्री गर्न लागेको हो ।
कम्पनीका अनुसार बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमार्फत यही फागुन २० गतेबाट खुला हुने साधारण सेयरअन्तर्गत आयोजना प्रभावित क्षेत्रका जनताको हकमा न्यूनतम १० देखि अधिकतम १६ हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सकिने छ । यस्तो सेयर बिक्री कार्य छिटोमा यही चैत्र पाँच गते र ढिलोमा यही चैत्र २० गतेसम्म कायम रहने छ ।
यसैगरी वैदेशिक रोजगारीको हकमा भने न्यूनतम १० देखि अधिकतम सात हजार दुई सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सकिने छ । यस्तो सेयर बिक्री कार्य यही चैत्र पाँच गतेसम्म कायम रहने छ ।