भीमफेदी (मकवानपुर) । हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको बिहीबार बिहान मृत्यु भएको छ ।
पैदलयात्री बोहरालाई रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय चौघडाले दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।