भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । सो पार्टीले महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने जनाएको छ ।
नेमकिपाको आठौं महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले बताए । उनले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।
उनले कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा शुक्रबार बिहान १० बजे बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने बताए ।
उनले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताउदै अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँए । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।