काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मेला आयोजना गर्ने जानकारी दिएको हो ।
महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा कामपाका प्रवक्ता नवीन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरूप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए । मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ ।
विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्रि फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमुना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।
उनका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् । महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताए । उनका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्रि फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णीम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।