काठमाडौं । दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले राजधानीमा एलाइड वर्क फोर्स सोलुसन एन्ड ट्रेनिङ सेन्टर सञ्चानलमा ल्याइएको छ । सो सेन्टरको बिहीबार एक कार्यक्रमका बीच गोरेस ग्रुपका सीईओ नकाटा सुनिचीले शुभारम्भ गरेका थिए ।
ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाली युवाहरूलाई दक्ष तालिम दिएर रोजगारीका अवसर सिर्जना गर्नको लागि ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए । ‘हामी दक्ष तालिम र रोजगारी अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौँ । यस किसिमका संस्थाले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछन्’, उनले भने । कार्यक्रममा गोरेस ग्रुपका सीईओ नकाटा सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गरेका थिए । नेपाली कामदारहरू इमानदार र मेहनती भएकाले विदेशी रोजगार बजारमा उनीहरूको उच्च माग रहेको बताए । एलाइड वर्क फोर्स सोलुसनले प्रदान गर्ने तालिमले नेपाली कामदारको प्रतिष्ठा अझ मजबुत बनाउने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल संघीय वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्ण कटवालले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताए । त्यसैगरी इ–क्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबीचको सहकार्य औँल्याए भने इक्यान अध्यक्ष शेषराज भट्टराईले शिक्षा परामर्श र वैदेशिक रोजगारी क्षेत्रबीच पारस्परिक सहयोग गर्न सके मात्रै नेपाली विद्यार्थी र कामदारलाई उचित सल्लाह तथा अवसरहरू प्राप्त गर्न सकिने बताए ।