काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपालका लागी इजरायली राजदूत स्मुलिक आरी बाससँग बिहीबार काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले इजरायका राजदूतमार्फत लगानीकर्ताहरूलाई लगानी गर्न आह्वान गरेका हुन् । नेपालको कृषि, पर्यटन ऊर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरू रहेको उनले बताए । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरूबाट दुवै देशले फाइदा लिन सक्ने उनको भनाइ थियो । नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरूलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरी सहकार्य गर्न राजदूतावास समक्ष आग्रह गरे ।
इजरायली राजदूत स्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहिआएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘इजरायल नेपालको पुरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आइरहेका छौँ’, उनले भने, ‘खासगरी साना किसान सहकारीमार्फत नेपालीहरूलाई इजरायमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरूले फाइदा लिएका छन् ।’
राजदूत बासले महासंघसँग सहकार्यकार्यका लागि आफू सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आपसी सहकार्यलार्ई थप प्रभावकारी बनाइने बताए । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।