काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इङ्क प्रालिले बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ ।
नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इङ्क प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इङ्क प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायतको उपस्थितिमा बुधबार सो इभेन्टको शुभारम्भ गरिएको हो । इभेन्टको प्रमुख आकर्षणको रूपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी सार्क ६ सार्वजनिक गरिएको छ । यसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।
इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ । जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् । यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सु–सज्जित छन् । कम्पनीका अनुसार बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ । यस्तै, कम्पनीको एड्भान्स्ड इ–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ ।
कम्पनीका अनुसार यस इभेन्टले अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई पुनःपुष्टि गर्ने एक प्लेटफर्मको रूपमा कार्य गर्नेछ । यसमा सोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् । साइमेक्स इङ्कका चेयरम्यान अनिल श्रेष्ठले न्युइनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सीमाहरूलाई बीवाईडीले लगाताररूपमा पार गरिरहेको बताए । फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्नेछ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् । बीवाईडी हाई–टेक विक २०२५ को टिकट इ–सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।