काठमाडौं । आधिकारिक भाष्यमा राष्ट्रिय अर्थतन्त्र सुधार हुँदै गरेको छ भनिए पनि यथार्थमा त्यस्तो अवस्था होइन । झिनामसिना कुरामा सुधार आउँदैमा समग्र अर्थतन्त्रमा सुधार हुने होइन । विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा जादुको छडीजस्तो गरी रातारात हाम्रो अर्थतन्त्रमा सुधार हुने होइन । क्रमिकरूपमा सुधार हुँदै आए पनि समय लाग्ने नै हुन्छ । किनकि सबैजसो सूचकहरू अहिले पनि खस्किँदै गएको अवस्था देखिन्छ ।
अहिले अर्थतन्त्रका केही बाह्य सूचकहरू सवलीकरण हुँदैमा अर्थतन्त्र सुदृढ भयो भन्न सकिँदैन । बाह्य सूचक भनेको मूलतः हाम्रो विदेशी मुद्रा सञ्चिति नै हो । अहिले २३ खर्ब १७ अर्ब विदेशी मुद्रा सञ्चिति भएको कारणले मात्र अर्थतन्त्र मजबुत छ भन्न सकिँदैन । यो रकम हामीले आन्तरिक उत्पादनमा वृद्धि गरेर र निर्यात बढाएर आर्जन गरेको होइन । ऊर्जाशील जनशक्ति वैदेशिक रोजगारीको लागि निर्यात गरेर कमाएको रकम हो । अर्कोकुरा विप्रेषणबाट प्राप्त भएको रकम आन्तरिक उत्पादन निर्यात गरेर प्राप्त गरेको आम्दानी नभएकाले यसलाई कुल गार्हस्थ उत्पादनमा पनि समावेश गरिँदैन ।
अर्कोपक्ष भनेको यसरी प्राप्त रकमलाई पनि हामीले उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न पनि सकिएको छैन । अधिकांश रकम अनुत्पादक कार्यमा नै खर्च हुने गरेको छ । पसिना बगाएर कमाएको पैसा पसिना जसरी नै बगेर खेर गइरहेको छ । विदेशी मुद्राको आकारभन्दा पनि त्यसको प्रयोग के–कसरी भएको छ भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । जति नै रकम कमाए पनि यदि त्यसबाट अतिरिक्त लाभ लिन सकिँदैन भने त्यसले अर्थतन्त्रमा खासै योगदान दिन सक्दैन ।
शोधनान्तर अवस्था अनकुल देखिँदैमा खुशी हुनुपर्ने स्थिति पनि छैन । किनभने हामीले आयातलाई नियन्त्रण गरेको हुनाले केही राम्रो देखिएको हो । एकातिर हामी आर्थिक उदारीकरण भन्छौँ भने अर्कोतर्फ नियन्त्रणमुखी नीतिगत व्यवस्था पनि गरेका हुन्छौँ । यस प्रकारको अवस्थामा अर्थतन्त्र सहजरूपमा अघि बढ्न सकेको हुँदैन । यदि आयात निर्यातमा आएका समस्याहरू समाधान गर्ने हो भने नियमितरूपमा नियमनकारी भूमिका निभाउनुपर्छ । राज्यलाई जुनबेलाजस्तो लाग्छ त्यही किसिमबाट अर्थतन्त्र चलाउन सकिँदैन । यसलाई सहजरूपमा जान दिनुपर्छ । अहिले विदेशी मुद्राको सञ्चिति बढ्नुमा आयातलाई नियन्त्रण गरिएको र बाह्य भुक्तानी न्यून भएको कारणले गर्दा हुन गएको हो ।
संक्षेपमा भन्नुपर्दा अहिले राष्ट्रिय अर्थतन्त्रले गतिलिन नसकेको अवस्था हो । सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन । चालुगत खर्च उच्च वृद्धि हुँदै गएको छ । चालुगत बजेटले साधारण खर्च धान्न पनि नसकेको अवस्था छ । त्यसकारण आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋणमा दबाब पर्न गएको देखिन्छ । स्रोत व्यवस्थापनमा दबाब पर्न गएकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत एक खर्ब ६७ अर्ब बजेट कटौती भएको छ । त्यसकारण अहिले अर्थतन्त्र सहज अवस्थामा देखिँदैन ।
पुँजीगत खर्च बढाउन नसकेको हुनाले बजारमा पैसा प्रवाह हुन सकिरहेको छैन । सार्वजनिक निर्माण कार्यको भुक्तानी हुन नसकेको कारणबाट बजार चलायमान भएको छैन । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकोले सञ्चालन खर्च धान्न पनि उद्योगीहरूलाई कठिन भएको छ । प्रत्येक महिना बैंक व्याजदर घट्दै गएको अवस्थामा पनि कर्जा लिन उद्योगीहरू चाहँदैनन् । जसको कारणबाट सात खर्बभन्दा बढी कर्जायोग्य रकम बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको अवस्था छ । मौद्रिक उपकरणको माध्यमबाट नेपाल राष्ट्र बैंक तरलता प्रशोचन गर्दै आएको छ । यो अवस्था आउनु भनेको राष्ट्रिय अर्थतन्त्र कमजोर देखिनु हो ।
अर्थतन्त्रको यस्तो कठिन अवस्थामा पनि सेयरबजारले भने टेको पुर्याइरहेको देखिन्छ । अर्थतन्त्रले गति लिन नसके पनि सेयरबजार भने विस्तार भइरहेको छ । अहिले डिम्याट खाता खोल्नेहरूको संख्या ६० लाखभन्दा बढी पुगी सकेको छ र बजारमा सक्रिय संख्यामा पनि वृद्धि हुँदै गएको देखिन्छ ।
गहनरूपमा अध्ययन गर्ने हो भने अर्थतन्त्र जसरी कमजोर हुँदै गएको छ । त्यस अनुरूप सेयरबजार खस्किएको देखिँदैन । हुन त ३२ सय पुगेको नेप्से अहिले २८ सयको हाराहारीमा आएको छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने त्यस समयमा त्यसरी नेप्से बढ्नुमा विशेष कारणहरू थिए भने अहिले परिस्थिति भिन्न भएको अवस्था छ । अहिले लगानीकर्ता निकै सचेत र विवेकशील भइसकेका छन् । हचुवा र जथाभावी किसिमले लगानी गरेका छैनन् । यस कारणले गर्दा बजार तल नगएको हो ।
अवको सेयरबजार भनेको लगानीकर्ताको बजार हो । लगानीकर्ताले विचार गरेको हुनाले नै जोखिमको सम्भावना न्यून हुने देखिन्छ । बजारमा वस्तु खरिद बिक्रीगर्दा जसरी सन्तुष्टिलाई ध्यान दिइन्छ त्यस्तै हो सेयरबजार । कुनै व्यापारीले कम मूल्यमा सामान खरिद गरेर बढी मूल्यमा बिक्री गर्दछ र बढी नै नाफा कमाउने गर्दछ । सेयरबजारमा पनि बुद्धि पुर्याउन सक्ने हो भने घाटा हुने सम्भावना हुँदै हुँदैन भने पनि हुन्छ । कुनै वस्तु उत्पादन गरेर नाफा कमाउनको लागि धेरै चरण र प्रक्रिया पार गर्नुपर्छ । नाफा नै हुन्छ भन्न पनि सकिँदैन । तपाइँ हामी सबैलाई थाहा भएकै कुरो हो कि एउटा सामान्य उत्पादन कम्पनी स्थापना गर्नको लागि दर्ता गर्ने कामदेखि लिएर जग्गा, भवन, कच्चा पदार्थ, कामदार, मसिन, उत्पादन, बिक्री आदि धेरै कुराको व्यवस्थापन गर्नुपर्दछ र तिनीहरूको एक आपसमा समन्वयको त्यत्तिकै आवश्यकता पर्छ । यति भइसकेपछि पनि कम्पनीले राम्रै काम गरेर नाफा कमाउँछ भन्न सकिँदैन । धेरै कुराहरू अनिश्चित नै हुन्छन् । तर, उत्पादन कम्पनीको तुलनामा सेयरबजार कति सहज हो कति । सेयरबजार धेरै सजिलो बजार र नाफामूलक व्यवसाय हो । कुशल किसिमले सञ्चालन गर्न नसकेको कारणले मात्र समस्या आउने हो । हामी लगानीकर्ताहरू भने सेयरबजारलाई निकै नै उपेक्षा गरिरहेका हुन्छौँ । सेयरबजार हामीहरूले नै बिगारेका हुन्छौँ । सेयरबजारजस्तो सजिलो बजार अरू कुनै हुनै सक्दैन । ख्याल–ख्याल गर्ने हुनाले नै सेयरबजार तल झर्ने अवस्था भएको हो । अन्य अवस्थामा सेयरबजारले लगानीकर्तालाई धोका दिएको हुँदैन ।
कुनै लगानीकर्ताले सेयरसम्बन्धी जानकारी लिएको छ भने आफूलाई नोक्सानी हुने गरी कारोबार गर्दै गर्दैन । यहाँ त जानकारी तथा अध्ययनविना नै खरिद गरिने हुनाले सेयरबजार खस्किएको जस्तो देखिन गएको हो । सधैं यस्तै अवस्था भइरहन्छ भन्न पनि सकिँदैन । अब सेयरबजारप्रति धेरैको गहिरो बुझाइ हुँदै आएकाले सकारात्मक बन्दै आएको छ । सकारात्मक बुझाइ हुने हो भने यो व्यवसायमा डराउनु पर्दैपर्दैन । जुनबेला तपाईँ आँखा चिम्लिएर जथाभावी हामफाल्नु हुन्छ भने त्यो समय निश्चय नै तपाइँको लागि फलदायी नहुन सक्छ । लाभ लिन सक्ने र नसक्ने भन्ने कुरा लगानीकर्तामा नै भरपर्छ ।
निश्चय नै अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । यस्तो अवस्थामा पनि सेयरबजारबाट डराइ हाल्नुपर्ने अवस्था छैन । सेयरबजारले करेक्सन गर्दै आफ्नो बाटो लिइरहेको छ । निश्चय नै ३२ सय नेप्से पुगेको समयमा खरिद गर्नेहरूको लागि अहिले पनि बजार अनुकूल नहोला । तर, अहिले अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखापरेका हुनाले त्यसको सकारात्मक प्रभाव सेयरबजारमा पनि पर्ने नै हुन्छ । अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि २८ सयको वरिपरि नेप्से रहनुभनेको अर्थतन्त्रको लागि सहयोगी भूमिका सेयरबजारले गरेको अवस्था हो । सेयरबजारले योगदान नगरेको भए अझै अर्थतन्त्र कमजोर हुने थियो ।
अहिले अर्थतन्त्रमा सुधार गर्न सुझाव समिति गठन भइसकेको र तीब्ररूपमा कार्य गरी नै रहेको छ । त्यस्तै, गरेर आर्थिक वर्ष ०८१/८२ को वार्षिक बजेटको अर्धवार्षिक मूल्याङ्कनबाट १८ खर्ब ६० अर्बको बजेट स्रोत व्यवस्थापन गर्न मुस्किल भएकाले घटाइएको छ । यसको अर्थ अनावश्यकरूपमा बेलुनजस्तो गरी फुल्याइएको बजेटलाई यथार्थपरक बनाइएको छ । पुँजीगत खर्च बढाउने र चालुगत खर्चलाई यथासम्भव न्यूनीकरण गरेर मितव्ययी बनाउने भनिएको छ । यसको प्रभाव अर्थतन्त्रमा पर्ने नै हुन्छ । स्वदेशी लगानीलाई प्रोत्साहन तथा बाह्य लगानीलाई आकर्षण गर्ने सरकारको नीति रहेकाले यसको प्रभाव सेयरबजारमा परेकै हुन्छ ।
यसै सन्दर्भमा हालै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेको छ । समीक्षाले अर्थतन्त्र र सेयरबजारमा सकारात्मक सन्देश प्रवाह गरेको हुनाले परिणामस्वरूप सेयरबजारले गति लिँदै गरेको अहिलेको अवस्था हो । त्यसकारण अहिले नै सेयरबजारबाट डराउनु पर्दैन । लगानीकर्ताको भाष्य नै ३२ सयमा पुगेको सेयरबजार यसरी घटेको छ भन्ने एक प्रकारको मानसिकता अहिलेसम्म पनि दिमागबाट हट्न सकेको छैन । यो इतिहास बनिसकेको विषयलाई सधैँ कोट्याई रहनु उपयुक्त पनि हुँदैन । हामीले हेर्नुपर्ने, अध्ययन गर्नुपर्ने र विवेक पु¥याउनुपर्ने समय भनेको वर्तमान हो । यस्ता कुरामा ध्यान दिन सक्ने हो भने सेयरबजारबाट डराउनु पर्दैन । जोखिम निम्त्याउने भनेको त तपाईँ हामी नै हौँ । विवेकशील लगानीकर्ताले जहिले पनि कम लगानीबाट अधिकतम फाइदा लिन सक्छन् । तपाईँलाई पनि यही सुझाव । धन्यवाद ।